क्यानबेराको पार्टीगत राजनीति भन्दा पर गएर बहालवाला तथा पूर्व आदिवासी मामिला मन्त्रीहरू संवैधानिक पहिचानका लागि एक साथ उभिएका छन्।
पर्थबाट बोल्दै पूर्व लिबरल सांसद केन वाएट, र हालकी लेबर सांसद लिन्डा बर्नीले जनमत सङ्ग्रहमा द्विदलिय समर्थनको आग्रह गरेका छन्।
"पिटर डटनसँग आफ्नो विचार परिवर्तन गर्न अझै पनि समय रहेको छ। पिटर डटनसँग अझै पनि समय रहेको छ आफ्नो हृदय परिवर्तन गर्न। र म उनलाई हामीसँगै यो यात्रामा हिँड्न प्रोत्साहित गर्छु।" लिन्डा बर्नी भन्छिन्।
"मैले अघि भनेजस्तै यो परिवर्तन भनेको हाम्रा आगामी पुस्ताको लागि हो। किनभने यदि हामी यथास्थिति रहिरहने हो भने केही पनि परिवर्तन हुँदैन।"
केन वाएटले भने, "हामीलाई सुनिरहनु भएका तपाईँहरू सम्पूर्णलाई सबै तहमा हामीलाई उपस्थितिको अवसर दिनेबारे सोच्न आग्रह गर्छु।"
सम्बन्धित सामाग्री

भोइस टु पार्लियामेन्ट: संवैधानिक पहिचान प्रयासको लामो तथा कठिन यात्रा
लिबरलले भोइस टु पार्लियामेन्टको विपक्षमा रहने निर्णय गरेपछि गत हप्ता केन वाएटले पार्टीको सदस्यबाट राजीनामा दिएका थिए।
यो विचारमा अन्य पूर्व मन्त्री तथा छाया मन्त्री( फ्रन्ट बेन्च सांसद)हरूमा एकमत देखिँदा, गठबन्धनबाट आदिवासी अस्ट्रेलियाली मामिलाका प्रवक्ता जुलियन लीसरले मङ्गलवार फ्रन्ट बेन्चबाट हट्ने निर्णय गरेका छन्।
उनको सो निर्णय पश्चात् भोइस को समर्थन गर्ने अन्य लिबरल सांसदहरूले पनि उनलाई पछ्याउन सक्ने अनुमानहरू आइरहेका छन्।
केन वाएटले यदि अरूले पनि त्यस्तो गरे पार्टीलाई आफ्नो निर्णय परिवर्तन गर्न दबाब पर्ने बताए।
तर लिबरलका मध्यमार्गी सांसद साइमन बर्मिङ्हमले भने फ्रन्ट बेन्च छाड्ने आफ्नो सोचाइ नरहेको स्पष्ट पारे।
उनले स्काई न्युजसँग कुरा गर्दै आफूले प्रस्तावित भोइसलाई समर्थन नगर्ने 'नो' अभियानमा भने सहभागिता नजनाउने स्पष्ट पारेका छन्।
तर आफ्नो मत समर्थनमा हुन्छ कि हुँदैन भन्नेबारे पनि खुलाएनन्।
"सबै अस्ट्रेलियालीहरूले सामान्य गोप्य मतदान प्रक्रियालाई रुचाउने छन्।"
तर पिटर डटनबाट भने यसबारे लचिलो हुने कुनै सङ्केत देखिएको छैन।
सुन्नुहोस्

पुरा रिपोर्ट सुन्नुहोस्
06:29
उनले नेसनल सेनेटर जसिन्टा नाम्पाजिन्पा प्राइससँगै रेड सेन्टर भनेर पनि चिनिने एलिस स्प्रिङको भ्रमण गरेका छन्।
जहाँ उनीहरूले हाल रहेको अपराधको शृङ्खलाबाट प्रभावित भएका स्थानीयहरूका चिन्ताहरू सुने।
"एलिस स्प्रिङ एक सुन्दर सहर हो, यो हाम्रो राष्ट्रको मुटु हो, र अहिले यो मुटु टुटेको छ। र के कुरा स्पष्ट छ भने एलिस स्प्रिङ अहिले जस्तो क्यान्बराबाट टाढा कहिल्यै भएको थिएन।"
स्थानीय व्यवसायी ड्यारेन क्लार्क पनि सो अवसरमा उपस्थित भएका थिए।
"म धेरै कृतज्ञ छु पिटरसँग कि उनी आज यहाँ आए, किनभने हामी पिडामा छौँ। यो सहरमा हामी जटिल समस्यामा छौँ। हाम्रा कलिला केटाकेटीहरू समस्यामा छन्। कसैले पनि उनीहरू प्रति ध्यान दिएका छैनन्।"
क्लार्कले आफूहरूका समस्या बताए, "हाम्रो प्रदेश सरकारले उनीहरूलाई ध्यान दिँदैन। हाम्रो सङ्घीय सरकारलाई उनीहरूको चिन्ता छैन। हाम्रा नर्सिङ होमहरूमा यसै हप्ता दुई पटक आक्रमण भयो, वृद्ध मानिसहरूलाई कुटपिट गरियो, हामी राति सहरको एक भागबाट अर्को भागमा जान सक्दैनौँ। "
"हामीले एलिस स्प्रिङमा आफूहरूले नै कर्फ्यु लगाएका छौँ।" उनले भने।
पिटर डटनले उक्त भ्रमणलाई व्यवहारिक समाधान तर्फ ध्यानाकर्षण गराउन प्रयोग गरेका छन्। उनका अनुसार आदिवासीहरूलाई पुगेको हानिको सम्बोधन स्थानीय र क्षत्रिय आवाजहरूलाई कानुनी प्रक्रियामा ल्याएर गर्नु पर्ने बताए।
"मलाई लाग्दैन कि क्यान्बराको भोइस जसमा २४ जना व्यक्तिहरू रहेका छन् र जसमध्ये अधिकांश प्रमुख सहरहरूबाट आएका छन्, उनीहरू यहाँ रहेका समस्याहरूको समाधान बन्छन्। यदि मलाई त्यस्तो लाग्थ्यो भने म यसलाई तत्कालै आत्मसाथ गर्थेँ।”
जसिन्टा नाम्पाजिन्पा प्राइसले संसद्मा जुलियन लीसरको स्थान लिने सम्भावनाबारेको प्रश्नलाई छल्दै भोइसको विपक्षमा पिटर डटनको साथ दिँदै भनिन्,
"सिधा कुरा छ यस्तो ठाउँमा लगानी गर जसले प्रतिफल दिओस्।"
शुक्रवार देखी प्रस्तावित संवैधानिक परिवर्तनलाई लिएर संसदीय समितिको छलफल सुरु हुनेछ।
जुलियन लीसरले उक्त अवसरमा भोइसको प्रस्तावमा कार्यकारी सरकारलाई सुझाव दिन सक्ने व्यवस्था हटाउन लेबरलाई आग्रह गर्दै छन्।
उनको तर्क छ कि उक्त धारा हटाएमा रुढीवादीहरूको पनि समर्थन प्राप्त हुनेछ।
भोइसको पक्षमा वकालत गर्दै आएकाहरू भने गठबन्धनले आफ्नो निर्णय परिवर्तन गर्नेमा अझै पनि आशावादी रहेका छन्।
पर्थ नून्गार एल्डर अङ्कल बेन टेलर कुइमाराले यो विचारको उचित समय आएको बताए।
"मैले यो भूमिमा ८३ वर्ष देखि रङ्गभेदको पिडा भोगे, र अब हामीले पनि आवाज पाउने समय आएको छ। म त यसको पर्खाइमा छु।"
एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्। नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन जानुहोस्, वा ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।