प्रत्येक आर्थिक वर्षमा ट्याक्स सम्बन्धी नियमहरूमा परिवर्तन आउनुलाई स्वभावक मानिन्छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै कर सम्बन्धी नियमहरू केही हेरफेर भएका छन्।
क्रिप्टोकरेन्सीको कारोबारमा लाग्ने कर, न्यूनतम तलबमा वृद्धि, सुपरएनुएसन लगायतका केही परिवर्तनले लाखौँ अस्ट्रेलियालीहरुलाई प्रभाव पार्ने देखिएको छ।
नेपाली समुदायमा ट्याक्स एजेन्टका रूपमा लामो समय देखि काम गदै आइरहेका चुडामणि बेलबासे सिङ्गल टच पे रोल लागु भएदेखि आम्दानी सम्बन्धी सम्पूर्ण जानकारी आफ्नो माई गभ एकाउन्टमा देखिने हुँदा ट्याक्स रिटर्न सजिलो पारिदिएको बताउँछन्।
“जब सबै रोजगारदाताबाट आफ्नो आम्दानी सम्बन्धी विवरणहरू माईगभमा आउँछन् र ट्याक्स रेडी भनेर देखिन्छ, ट्याक्स रिटर्नको काम अगाडी बढाउन सकिन्छ,” बेलबासेले भने।
यस पटक कर र अर्थसम्बन्धी केही नीतिहरूमा सरकारले परिवर्तन गरेको छ।
पुरा रिपोर्ट सुन्नुहोस्।ट्याक्स टाइम: तपाईँले जान्नै पर्ने केही कुरा हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
तलबमा वृद्धि
यस आर्थिक वर्षको सुरुवातसँगै न्यूनतम ज्यालादरमा पनि वृद्धि भएको छ, यसको अर्थ जुलाई एक तारिखदेखि न्यूनतम ज्यालामा काम गदै आइरहेका मानिसहरूको तलबमा ५.२ प्रतिशतको वृद्धि भएको छ।
जुलाई अघि २०.३३ सेन्ट रहँदै आएको तलब बढेर प्रतिघण्टा २१.३८ सेन्ट पुगेको छ।
अब देखि फुल टाइम काम गर्नेहरूले हप्तामा अतिरिक्त ४० डलर प्राप्त गर्नेछन्।
ट्याक्स अफसेट
यसबर्ष करिब १० लाख मानिसहरूले ट्याक्स अफसेटबाट फाइदा लिन सक्ने बताइएको छ।
'लो एन्ड मिडल इन्कम ट्याक्स अफसेट' भनिएको उक्त कार्यक्रम अन्तर्गत १२६,००० सम्म कमाउने व्यक्तिले फाइदा लिन सक्ने बेलबासेले बताए।
“४८ हजार देखि १२६,००० सम्म कमाउने मानिसका हकमा यसअघिको १,०८० अफसेट ४२० डलरले बढाएर १५०० सय बनाइएको छ, र यो सिस्टम आफैले पिक अप गर्छ,” बेलबासेले भने।
सुपरएनुएसनमा परिवर्तन
जुलाई १ तारिखबाट सुपरएनुएसन कन्ट्रीव्युसन भनिने रोजगारदाताले जम्मा गरिदिँदै आएको रकममा पनि परिवर्तन हुने भएको छ।
यसै महिनाबाट रोजगारदाता कम्पनीले कमाइको १०.५ प्रतिशत सुपरमा राखिदिनु पर्ने नयाँ नियम आएको छ।
यसका अलावा १२.५ प्रतिशत नपुगेसम्म प्रत्येक वर्ष सुपरलाई ०.५ प्रतिशतले बढाउँदै लानु पर्ने पनि नियम राखिएको छ।
यो संगै महिनाको ४५० डलरसम्म कमाउनेले सुपर राख्नु नपर्ने भन्ने नियम पनि परिवर्तन भएको ट्याक्स एजेन्ट बेलबासेले बताए।
यसै गरी पहिलो घर खरिद कर्ताको प्रि-ट्याक्स डिडक्सनलाई ३० हजारबाट बढाएर ५० हजार पुर्याएको पनि उनले बताए।
क्रिप्टो र शेयर सम्बन्धी नियम
क्रिप्टो र शेयरबाट हुने आम्दानी पनि अन्य श्रोतबाट हुने आम्दानी सरह नै हुने भएकाले यसलाई पनि कर दाखिलामा सामेल गरिनु पर्ने बताइन्छ।
क्रिप्टोसम्बन्धी कारोबार गर्ने कति कम्पनीले कर कार्यालयलाई ग्राहकका तथ्याङ्कहरू पठाउने काम भइसकेको र यदि त्यसो नभएको खण्डमा चाहिँ आफ्ना फाइदा वा घाटाका बारेमा हिसाब राख्न बेलबासे सुझाव दिन्छन्।
“वर्षभरिमा कारोबार गर्दा कति फाइदा वा घाटा भयो भनेर हिसाब गर्नु पर्यो, अरू जस्तै क्रिप्टोलाई पनि एसेट मानिने भएकाले १२ महिना भन्दा बढी राख्नु भयो ५० प्रतिशत छुट हुन्छ, क्रिप्टोको छुट्टै ट्याक्स होइन कि क्रिप्टोबाट कमाएको फाइदाको ट्याक्स लाग्ने हो,” उनले भने ।
शेयरमा पनि त्यही नियम लागु हुने उनी बताउँछन्।

Parents face child care plan delay Source: AAP
चाईल्ड केयरमा छुट
पाँच वर्ष वा सो भन्दा कम उमेरका एकभन्दा बढी सन्तान भएका अभिभावकका हकमा भने उनीहरूको दोस्रो वा तेस्रो बच्चाका लागि बाल हेरचाह अनुदानमा पाउँदै आएको सहयोगमा वृद्धि हुने भएको छ।
यस सम्बन्धी नियम मार्च महिनादेखि नै सुरु भएको भए पनि दुवै अभिभावक अनुदानका लागि हकदार भएको अवस्थामा भने जुलाईदेखि मात्रै यो नियम लागु हुँदैछ।
मार्च देखि यसका लागी योग्य भएको अभिभावकहरूले पहीलेको रकम पनि प्राप्त गर्ने बताइएको छ।
ट्याक्स रिटर्न गर्दा के के दाबी गर्न पाइन्छ?
कर दाखिला गर्दा आफ्नो पेसासँग सम्बन्धित भएर कुनै खर्च गरिएको छ भने त्यसलाई दाबी गर्न सकिने चुढामणी बताउँछन्।
“काम रिलेटेड खर्च हुनुपर्यो र तपाईँको रोजगारदाताले उक्त रकम फिर्ता दिएको हुनुहुँदैन,” उनले भने।
आफ्नो कामको सिलसिलामा गरेको यातायात, कामसँग सम्बन्ध राख्ने तालिम, कामका लागि आवश्यक पर्ने रर्जिस्ट्रेसन वा कुनै च्यारिटेबल संस्थालाई दिइएको दान आदीलाई पनि ट्याक्स रिटर्नमा दाबी गर्न सकिने चुढामणी बताउँछन्।
यस बाहेक कोभिड–१९ महामारीका दौरान घरबाट काम गर्दाको अवस्थामा आफूले काम गरेको घण्टा बराबर एक घण्टाको ८० सेन्टसम्म दाबी गर्न सकिने उनले बताए।

Australians lost more than $320 million to online scammers last year Source: iStockphoto
'स्क्याम'बाट कसरी बच्ने
ट्याक्स टाइममा स्क्यामको पनि बिगबिगी हुने गरेको बेलबासे बताउँछन्।
फोन वा इमेलबाट कर तिर्ने धम्कीपूर्ण सन्देश वा इमेल आउने भएकाले आफू सतर्क रहन उनी सुझाव दिन्छन्।
यसबाहेक ट्याक्स रिटर्न बढी गरि दिने नाममा धेरै ठाउँमा डुल्ने र आफ्ना जानकारीहरू धेरै मानिसहरूलाई बाढ्दा पनि स्क्याममा परिने खतरा हुने उनी औल्याउछन्।
“कहिले काहीँ काम दिन्छु भन्ने मान्छेहरू पनि पर्सनल डाटा मात्र कलेक्सन गर्न बसेका हुन्छन्, यस्ता कुराहरूमा पनि आफू सजक हुनुपर्दछ।”
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यहाँ व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।