अस्ट्रेलियाले सांस्कृतिक विविधतालाई ध्यानमा राख्दै सार्वजनिक बिदा दिने विषयमा पनि परिवर्तन ल्याउनु पर्ने मागहरू आइरहँदा केही आप्रवासी समुदायहरूबाट भने मिश्रित प्रतिक्रिया आएको छ।
केहीले यसलाई सही दिशामा जाने कदम हुने बताएका छन् भने केहीले यो उपयुक्त नहुने बिचार राखेका छन्।
पर क्यापिटाका एक खोजकर्ता अस्मन्ड चिउ भन्छन् सरकारले प्रमुख उत्सवहरू जस्तै दीपावली तथा लुनार नयाँ वर्षमा सार्वजनिक बिदा दिनुपर्छ।
"यो भनेको अस्ट्रेलियालाई बहु सांस्कृतिक राष्ट्र भनेर सही तरिकाले पहिचान गर्ने एक सरल कार्य हो।"
लवी इन्स्टिच्युटद्वारा यसै वर्षको ज्यानुअरिमा प्रकाशित गरेको लेखमा चिउको यो प्रतिक्रिया आएको हो।
उनले एसियाली छिमेकीहरूको अगाडी अस्ट्रेलियाको छवि सुधार गर्न यो कदम महत्त्वपूर्ण हुने बताए।
"अस्ट्रेलिया एउटा बहु सांस्कृतिक राष्ट्र हो जुन संस्थागत रूपमा भने एकल सांस्कृतिक रहेको छ। हाम्रो बहु सांस्कृतिक बनावटलाई उचित ढङ्गबाट प्रतिबिम्बित गर्न त्यस्तै सार्वजनिक बिदाको प्रावधान हुनु पर्छ।"
पछिल्ला दुई दशकमा अस्ट्रेलियामा बसाइ सर्नेमा प्रमुख तया संयुक्त अधिराज्यका हुने गरेकोमा अहिले परिवर्तन भएर गैर युरोपेली राष्ट्रहरूका रहेका छन्।
सन् २०१६ देखि २०२१ सम्म अस्ट्रेलियामा आउने आप्रवासीहरू प्रमुख पाँच राष्ट्रहरू भारत, नेपाल, चीन, भियतनाम र फिलिपिन्समा जन्मिएका रहेका छन्।
सिख भोलन्टिएर्स अस्ट्रेलियाका जस्विन्दर सिंह भन्छन् दीपावलीमा सार्वजनिक बिदा दिनु सही हुन सक्छ।
LISTEN TO

पुरा रिपोर्ट सुन्नुहोस्
05:54
उनका अनुसार सार्वजनिक बिदा दिनुको अर्को विकल्पका रूपमा समुदायहरूको सम्मानमा बर्सेनि सरकारबाट यस्ता दिनहरूमा सन्देश दिन सकिन्छ।
"बिदा नै नभए पनि राज्य तथा सङ्घीय सरकारका प्रतिनिधिहरूले शुभकामना सन्देश दिन सक्छन्।"
तर सबैले सार्वजनिक बिदा थप्नुलाई सही कदम भन्ने सोच्दैनन्।
चाइनिज एसोसिएसन अफ भिक्टोरियाका जनसम्पर्क अधिकारी एडविन टाउन यसले समावेश नभएका समुदायहरूबाट "म पनि किन छैन ?" भन्ने प्रश्न आउन सक्ने बताउँछन्।
"चिनियाँ नयाँ वर्ष अस्ट्रेलियाली संस्कृति होइन, चिनियाँ संस्कृति हो। त्यसैले यो त्यति उपयुक्त हुँदैन चिनियाँ नयाँ वर्षमा मात्र (बिदा) दिइयो भने अरू देशहरूले पनि भन्न सक्छन्, मलाई चाहिँ किन नदिने?"
एक दिन मात्र विशेष बनाउनु भन्दा अस्ट्रेलियाले वर्षै भरि देशभर रहेका आप्रवासी समुदायहरूलाई अघि बढाउनु पर्ने उनको भनाइ रहेको छ।
लुनार नयाँ वर्ष वा चिनियाँ नयाँ वर्ष ज्यानुअरि २२ मा मनाइँदै छ।
यो धेरै पूर्वी एसियाली राष्ट्रहरूमा मनाइन्छ जसमा भियतनाम, दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया, थाइल्यान्ड, जापान, फिलिपिन्स र इन्डोनेसिया पर्दछन्।
अस्ट्रेलियामा हाल सात सार्वजनिक बिदा रहेका छन् जुन सम्पूर्ण आठ राज्य तथा प्रदेशहरूमा मनाइन्छ।