समाचार सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
कोरोना
नेपालमा यो हप्ता कोरोना सङ्क्रमित मानिसको संख्या ११० पुगेको छ, र नयाँ संक्रमति मध्ये धेरैजसो नेपालगञ्ज र पर्सा जस्ता तराइका जिल्लामा छन्।
सङ्क्रमित मध्ये ३१ जना निको भइसकेका छन् भने ७८ जना उपचाररत छन्। सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ।
हालसम्म कर्णाली प्रदेशमा भने कोरोना देखिएको छैन, र होशियारी अपनाउँदै कर्णाली प्रदेशले आफ्ना नाकाहरु बन्द गरेको छ। नेपालमा प्रति दस लाख मानिसमा ५०० को हाराहारीमा परीक्षण गरिएको छ, जुन दर कोरोनाको पहिचान र उन्मूलनका लगि निकै कम भएको बताइन्छ। अब भने परीक्षणको दर बढाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन्।
"किटहरु हामीसँग अहिले करीब ५० हजारको हाराहारीमा रहेको हामीलाई विवरण प्राप्त भएको छ। त्यसले गर्दा हामी विभिन्न फोकस भएका जिल्लाहरु र समग्र देशभरी पीसीआर प्रविधिबाट गरिने नमुनाहरुको दायरा बढाएका छौं।"
नेपालमा जारी रहेको लकडाउन मे महिनाको १८ तारिख सम्मका लाग थपिएको छ र केही क्षेत्रमा लकडाउन खुकुलो पनि गरिएको छ। ब्यांक र वित्तीय संस्थाका सबै शाखाहरु आइतबार देखि खुल्नेछन्।
भीडभाड नहुने गरी, एक पटकमा एक तिहाइ मात्रै कर्मचारी बोलाएर सेवा दिन राष्ट्र ब्यांकले ब्यांकहरुलाई निर्देशन दिएको छ।
लकडाउनको अवधीमा ब्यांकहरुले सीमित शाखाबाट दैनिक २/३ घण्टा मात्र सेवा दिइरहेका थिए। शेयर बजार पनि मंगलबारबाट खुल्ने बताइएको छ।

Nepali Congress leader Sher Bahadur Deuba tested for coronavirus before parliament meeting in Kathmandu Source: RSS
संसद पुनः शुरु
संघीय संसदका दुवै सदन शुक्रबार देखि शुरु भएका छन्। लकडाउन शुरु भएदेखि दुवै सदन सञ्चालन हुन सकेका थिएनन्।
तर आगामी जुन महिनामा सरकारले बजेट प्रस्तुत गर्नुपर्ने र त्यसभन्दा अघि संसदको बैठक बस्नुपर्ने भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले यस हप्ता संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।
शुक्रबारको बैठकमा सांसदहरुको स्वाब परीक्षणपछिको रिपोर्ट आएर मात्रै सहभागी हुन दिइएको थियो।
बैठकमा कोरोनाको व्यवस्थापन राम्रोसँग नगरेको, देशबाहिर नेपालीलाई अलपत्र अवस्थामा छोडेको, र अपहरणमा संलग्न भएको आरोप लगाउँदै जनता समाजवादी दलका सांसद बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत माग गरेका थिए।
"मेरो सम्माननीय प्रधानमन्त्रीसँग आग्रह छ। तपाईं जुन उचाइमा पुग्नुभएको छ, त्यहीं रहनुहोस्। र तपाईंले अनावश्यक ढंगले यस्ता प्रकारका गतिविधिमा संलग्न हुँदा तपाईंलाई आफैंमाथि पनि अन्याय भएको छ। रोगले जीर्ण भएको शरीरलाई तपाईंले आराम दिनुपर्छ। तपाईंले राजीनामा दिनु नै उपयुक्त हुन्छ। "
यसका साथै अरु विपक्षी दल नेपाली कांग्रेस र राजपाका नेताहरुले पनि संसदमा सरकारको कडा आलोचना गरेका थिए। तर कोरोनाको रोकथाम गर्ने विषयमा भने सबै सांसद एकजूट भएका छन्।

Dr Baburam Bhattarai addressing the parliament on Friday 8 May 2020 Source: RSS
लिपुलेक
भारतले नेपाल-भारत सिमानामा रहेको विवादित क्षेत्र लिपुलेक सम्म पुग्ने सडक निर्माण गरेकोमा नेपालमा थुप्रैले विरोध गरेका छन् र शनिबार केहीले काठमाण्डु र बिराटनगरमा प्रदर्शन समेत गरेका छन्।
शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतको उत्तराखण्ड राज्यको पिथोरागढ बाट लिपुलेक पुग्ने सडक भिडियो कन्फेरेन्स मार्फत उद्घाटन गरेपछि बल्ल नेपाल सरकार र सञ्चार माध्यमहरुले त्यहाँ सडक बनेको थाहा पाएका छन्।
नेपालको सबैभन्दा पश्चिमी जिल्ला दार्चुलासँग जोडिएको त्यो सडक बनेपछि मानसरोवर जाने बाटो छोट्टिएको भारत सरकारको दावी छ।
तर नेपालले लिपुलेकलाई आफ्नो भूमी भनेर लामो समयदेखि दावी गर्दै आएको छ।
भारत सरकारको यो कदमबारे खबर बाहिरिएपछि नेपालको परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ती जारी गरेर कडा प्रतिकृया दिएको छ। विज्ञप्तीमा भारतलाई नेपाली भूमि भित्र कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यो सडकको बारेमा थप जानकारी लिन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको पनि बताएका छन्।

Police detained students in Kathmandu against Indian government announcement to open a link road within Nepal on May 9,2020. Source: AAP
विद्यालयहरु बन्द गर्न निर्देशन
सरकारले विद्यालयहरुलाई अनलाइन पठनपाठन बन्द गराउन र त्यसका नाममा कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ।
लकडाउन शुरु भएपछि नेपालमा कतिपय विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न थालेका थिए, र त्यस्ता कक्षाका लागि शुल्क लिने हो कि भन्दै शिक्षा मन्त्रालयमा अभिभावकले गुनासो गरेपछि मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो।
यसका साथै तत्काल प्रवेश परीक्षा नलिन, नयाँ विद्यार्थी भर्ना नगर्न र शुल्क नलिन पनि सरकारले विद्यालयहरुलाई निर्देशन दिएको छ।
देशको सबै क्षेत्रमा सूचना प्रविधिको पँहुच नपुगेको र सबै विद्यार्थीको आर्थिक हैसियत पनि नपुग्ने हुनाले अनलाइन कक्षामार्फत पठनपाठन सुरु गरे विद्यार्थीमाथि पक्षपात हुने प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बताएको छ।
कोरोनाका कारणले स्थगित गरिएको कक्षा १० को एसइइ परीक्षा पनि नलिन समितिले सरकारलाई सुझाव दिएको छ।
प्रवासी नेपाली
लकडाउनको डेढ महिना बितिसक्दा पनि नेपाल सरकारले नेपाल बाहिर रहेका मानिसको समस्याको समाधा गरेको छैन।
नेपाल-भारत सीमानामा थुप्रै ठाउँमा अझै पनि सयौं नेपालीहरु फँसेका छन् र उनीहरुले आफूलाई नेपाल फर्किन दिन सरकारसँग अनुरोध गरेका छन्। भारतमा कामको लगि, पढ्नको लागि, उपचारको लागि र तीर्थयात्राका लागि गएका हजारौं नेपालीले उद्धारका लागि आग्रह गरेका छन्।
त्यस्तै, खाडी मुलुक र मलेशिया गएका आप्रवासी कामदारले पनि उद्धारको आग्रह गरेका छन्।
परराष्ट्र मन्त्रालयले त्यस्ता मानिसको विवरण संकलन गर्न दूतावासहरुलाई निर्देशन दिएको छ र उनीहरुलाई आगामी जुन महिनादेखि फिर्ता ल्याउन थाल्ने बताएको छ, तर हालसम्म भने यो प्रकृया अध्ययनमा मात्रै सीमित छ।

A Nepalsese worker takes a break in Doha, Qatar. Source: AAP
बुद्ध जयन्ती
यसै हप्ता बिहीबार परेको बुद्ध जयन्तीमा बुद्धको जन्मस्थल लुम्बिनीमा महामारीबाट मुक्ति पाउनका लागि रतन सूत्र पाठ गरेर मनाइएको छ।
भिक्षुहरुले सामाजिक दूरी कायम गर्दै प्रत्येक व्यक्ति बीच दुइ मिटरको दुरी राखेर मास्क लगाएर प्रार्थना गरेका थिए।
प्रधानमन्त्री केपी ओलीले एउटा भिडियो सन्देशमा घरघरमै दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाउने अनुरोध गरेपछि राष्ट्रपति र अरु उच्च पदाधिकारीले बिहीबार राती दीप प्रज्वलन पनि गरेका थिए।
अन्य समयमा जस्तो बौद्ध गुम्बाहरुमा भीडभाड भने देखिएन।

Buddha's birth celebrated in Lumbini, Nepal. Source: RSS