फेसबुक र गुगल जस्ता बहुराष्ट्रिय कम्पनीहरूलाई अस्ट्रेलियाली समाचार सामाग्री प्रकाशन गरेबापत शुल्क तिराउने सरकारी योजना सङ्घीय संसदबाट पारित भए सँगै फेसबुकले अस्ट्रेलियाली समाचार सामाग्रीलाई लगाउँदै आएको बन्देज फुकुवा गरेको छ ।
शुक्रवार बिहान देखि एस बी एस लगायत अन्य संचारमाध्यमहरुका फेसबुक पेजमा पुन समाचार प्रकाशन गर्न मिल्ने भएको छ ।
गत एक हप्ता देखि अस्ट्रेलियाली सञ्चार माध्यमले आफ्नो फेसबुक पेज मार्फत समाचार सामाग्री प्रकाशन गर्न पाइरहेका थिएनन् ।
समाचार संस्थाहरूका फेसबुकका अफिसियल पेजहरूमा “कुनै पनि सामाग्री पोस्ट भएको छैन” भन्ने सन्देश देखिन्थ्यो ।
फेसबुकको यो कदम सर्वत्र आलोचित बन्न पुगेको थियो ।
सङ्घीय सरकारले मिडिया कोडमा आवश्यक परिमार्जन गर्ने सहमति गरेपछि फेसबुकले आफ्नो कदमबाट पछि हट्ने बुधवार जानकारी गराएको थियो ।
नयाँ कानुनले प्रविधिमा आधारित विश्वका ठुला कम्पनीहरूले अस्ट्रेलियाली समाचार सामाग्री प्रयोग गरे बापत निश्चित रकम उक्त समाचार संस्थालाई तिर्नु पर्ने हुनेछ ।
ट्रेजरर जोस फ्राईडेनवर्गले शुक्रवार बिहान टु जी बि रेडियो सँग कुरा गदै बषौको छलफल पछि “विधानको महत्त्वपूर्ण अंश” पारित भएको बताए ।

Australian Federal Treasurer Josh Frydenberg Source: AAP
“गुगल र फेसबुकले यो कानुन अस्तित्वमा आएको हेर्न चाहँदैन थिए , तर आज यो नतिजा भएको छ कि अस्ट्रेलियाली न्युज मिडिया व्यावसायहरुले आफ्नो सामाग्रीका लागि भुक्तानी पाउनेछन् र पत्रकारिता टिक्न सक्नेछ । ” उनले भने ।
फ्राईडेनवर्गले फेसबुकका प्रमुख सँगको वार्ता “सम्मानजनक” र “रचनात्मक ” भएको प्रतिक्रिया दिएका छन् ।
यता न्यूजील्याण्ड र अस्ट्रेलियाका लागि फेसबुकका प्रमुख विलियम इस्टनले रचनात्मक छलफल पछि सम्झौतामा पुग्दा आफू निकै हर्षित भएको प्रतिक्रिया दिएका छन् ।
फेसबुकको यो कदम सँगै एस बी एस नेपालीका सामाग्रीहरू पुन:फेसबुकमा पहिले झैँ उपलब्ध हुनेछन् ।