सङ्घीय सरकारले सो भुक्तानी गर्ने घोषणा प्रधानमन्त्री स्कट मरिसनले सोमबार क्यानबेरामा गरेका हुन्।
उनले भने कि एकै व्यक्तिले धेरै पटक भुक्तानी पाउन पर्ने स्थिति उत्पन्न भए, त्यसका लागि पनि ती सङ्क्रमित योग्य हुने बताएका छन्।
"यो मुख्य रूपले छोटो अवधिको भिसामा रहेका मानिसहरू प्रति लक्षित छ - तिनीहरू जो अस्ट्रेलियाका स्थायी बासिन्दा वा नागरिक होइनन् - जसको सङ्घीय सरकारद्वारा हुने अन्य कुनै भुक्तानीमा पहुँच छैन," मरिसनले भने।
"आजको दिन, हामी भिक्टोरियालाई बताउन चाहन्छौँ कि हामी तपाईँलाई सहयोग गर्न आएका छौँ," उनले अगाडि भने।
यस अघि, युनियनहरू र व्यवसायीहरूले एकरूपता जनाउँदै राष्ट्रिय महामारी बिदा भुक्तानी योजनाको लागि आह्वान गरेको थियो।
"भुक्तानी सहितको महामारी बिदा अब भिक्टोरियाली कार्यस्थलमा कोरोना सङ्क्रमणमा भएको वृद्धि विरुद्ध लड्ने अत्यावश्यक सार्वजनिक स्वास्थ्य उपाय हो," उनीहरूले महान्यायाधिवक्ता क्रिश्चियन पोर्टरलाई सोमबार बुझाएको एक ज्ञापन पत्रमा उल्लेख थियो।
अन्य राज्यमा पनि महाविपत्तिको स्थिति घोषणा भए, ती स्थानका अस्थायी भिसा धारकहरू पनि सो १,५०० डलरका लागि योग्य हुने प्रधानमन्त्री स्कट मरिसनले बताएका छन्।
भिक्टोरियामा थप प्रतिबन्ध, अत्यावश्यक बाहेकका पसलहरू बन्द हुने
राज्य सरकारले सोमबारै घोषणा गरेको नयाँ चरणको कोरोनाभाइरस प्रतिबन्ध अन्तर्गत मेलबर्नमा लगभग सबै खुद्रा व्यवसाय बुधवार मध्यरात पछि देखी लागू हुने गरी बन्द गर्न आदेश दिइएको छ।
अत्यावश्यक व्यवसायहरू - सुपर मार्केटहरू, फार्मेसीहरू र बैङ्कहरू भने हाललाई खुला रहने भिक्टोरियाली प्रिमियर ड्यानिेएल एन्ड्रुजले सोमवार दिउसो मेलबर्नमा आयोजित एक पत्रकार सम्मेलनका क्रममा बताएका छन्।
कोरोनाभाइरसका कारण थप १३ जनाको मृत्यु हुनुका साथै ४२९ जना सङ्क्रमित भएको पुष्टि गर्दै एन्ड्रुजले कार्यस्थल सम्बन्धी पछिल्ला व्यवस्था घोषणा गरेका हुन्।
कोरोनाभाइरस सङ्क्रमणको दरलाई घटाउन आइतवरदेखि मेलबर्नमा बेलुकाको ८ बजे देखि बिहानको ५ बजेसम्म कर्फ्युको नियमका साथै चौथो चरणको कडा लकडाउन सम्बन्धी नियम उनले लागु गरेका थिए।
उक्त निर्णयको दोस्रो चरणको घोषणा गर्ने क्रममा प्रिमियर एन्ड्रुजले राज्यमा सञ्चालित हुने व्यवसायहरूको प्राथमिकता अनुसार तीन तहमा विभाजन गरिएको जानकारी दिए।
पहिलो तहका व्यावसाहरुमा सुपर मार्केट र किराना पसलहरूका साथै, अत्यावश्यक सामाग्री बेच्ने - औषधि पसल, बैङ्क, पेट्रोल स्टेसन र हुलाक रहेको छ।
ती व्यवसायहरू खुला रहने छन्।
दोस्रो तहमा रहेका केही खुद्रा बिक्रेता, उत्पादन र केही प्रशासकीय व्यवसायहरू आगामी बुधवार मध्यरात देखि बन्द हुनेछन् भने आगामी शुक्रवार देखि तेस्रो तहमा रहेका मासु कारखाना र भवन निर्माण कार्यमा संलग्न व्यवसायहरूमा काम गर्नेहरूको सङ्ख्या पनि घटाइने छ।
मेलबर्नका भण्डारण तथा वितरण केन्द्रहरूमा कुनै एक समय दुई तिहाइ भन्दा बढी कर्मचारीको काम गर्ने अनुमति नरहने र साथै बन्द गरिने व्यवसायहरूलाई ५,००० डलर सम्मको सहयोग प्रदान गरिने पनि उनले बताएका छन्।
ड्यानिएल एन्ड्रुजका अनुसार ६ हप्ते लकडाउन कठोर निर्णय भएता पनि, यस्तो कदम निकै जरुरी रहेको छ।

Victorian Premier Daniel Andrews Source: AAP
"जबसम्म हामी स्वास्थ्य समस्या समाधान गर्दैनौँ, जबसम्म हामी यी केस सङ्ख्याहरूलाई धेरै, धेरै घटाउँदैनौँ, हामी अर्थतन्त्रलाई फेरि खोल्न सक्दैनौँ" उनले भने।
एन्ड्रुजले परिवर्तनहरूलाई सरकारले चालेका सबभन्दा कडा सुरक्षा प्रोटोकलहरूका रूपमा वर्णन गर्दै राज्यमा कोभिड-१९ का सङ्क्रमण सङ्ख्यालाई तल झार्न अत्यावश्यक रहेको बताए।
सोमवार सार्वजनिक गरिएको जानकारी पछि भिक्टोरियामा कुल मृतक सङ्ख्या १३६ पुगेको छ भने अस्ट्रेलियाभर हालसम्म २२१ जनले कोरोनाभाइरस कारण आफ्नो ज्यान गुमाइसकेका छन्।
भिक्टोरियाको पछिल्ला मृत्यु मध्ये ८ जना, वृद्ध स्याहार केन्द्रका निवासी रहेको अधिकारीहरूको भनाइ छ।
साथै सङ्क्रमित मध्ये ४२६ जना अस्पतालमा उपचारार्थ रहेको र ती मध्ये ३५ जना सघन उपचारमा रहेको प्रिमियर ड्यानिएल एन्ड्रुजले बताएका छन्।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी उपलब्ध छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 
