सम्पादकको नोट: हामीले नासाको वर्ल्डभ्यु एपबाट चार अगि र पछि तस्बिरहरू तानेर एक जना डढेलो अनुसन्धानकर्ता - ग्रान्ट विलियमसनलाई ती चित्रहरूले के भन्छन् भनेर सोधेका थियौँ। प्रस्तुत छ, उनको चिन्तन:
मैले डढेलो बारे अध्ययन गर्न थालेको एक दशकभन्दा पनि बढी भयो। विश्वव्यापी तथा क्षेत्रीय रूपमा आगो लाग्ने किसिम के कस्तो छ भनेर बुझ्न म भूउपग्रह तथ्याङ्कको प्रयोग गर्ने गर्छु - तिनीहरू किन र कसरी चलायमान हुन्छन् अनि भविष्यमा कसरी परिवर्तन हुन सक्छन् भनेर बुझ्न खोज्छु। जलवायु परिवर्तन तथा जमिन प्रयोगमा हाम्रो आनीबानी फेरिँदै गर्दा तिनले डढेलोलाई कसरी प्रभावित गर्छन् भन्ने कुरामा पनि म घोत्लिन्छु।
जब म यी तस्बिरहरू हेर्छु तब म सोच्ने गर्छु कि हामीले यो सङ्कट आउने त कुरो निकै अगाडी नै थाहा पाइसकेका थियौँ। यो सङ्कटलाई मैले आफ्नै अगाडी विकसित हुँदै गएको देखेको छु।
यसको आकार मात्र हेर्नुहोस् त - कति ठुलो छ यो। यसरी व्यापक रूपमा जमिन नै ढाक्ने गरी यति भयानक रूपको डढेलो त मैले यस भन्दा अगाडी कहिल्यै देखेको थिइनँ - कति धेरै ठाउँमा एकैसाथ धुवाँको बाक्लो मुस्लो सहित - यो सबैलाई आश्चर्य चकित गर्ने किसिम कै छ।
नोभेम्बर १, २०१९ र ज्यानुवरी ३, २०२०
यी दुई मितिहरूमा लिइएको तस्बिरहरूको तुलना गर्ने हो भने भर्खरै मात्रको फोटोमा (दाहिने हात पट्टिको) तपाई व्यापक रूपमा सल्किएको डढेलो र त्यसबाट उत्पन्न धुवाँले अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्र सबैजसो नै ढाकेको देख्न सक्नु हुन्छ। न्युजील्यान्डसम्म यो धुवाँ पुगेको पनि हप्तौँ भइसकेको छ।
यसपालिको डढेलो विस्तार भएको मात्रा पक्कै पनि असामान्य छ। उदाहरणका लागि, कुनै सामान्य वर्षमा, ठुलो डढेलो भनेको तपाईंले अस्ट्रेलियाको एल्प्स (हिमाली) क्षेत्रमा जस्तै कोजीइस्को हिमाल वा ब्लु माउण्टेन्समा लागेको भन्ने बुझ्नुहुन्छ - तर ती पनि प्राय पृथक् घटनाहरू हुन्।
अचम्मको कुरा त के छ भने यहाँ यति धेरै डढेलोहरू एकसाथ लागि रहेका छन्। मैले कहिल्यै पनि यस्तो देखेको छैन।
ब्ल्याक स्याटरडे, फेब्रुवरी ८, २००९ र सन् २०१९/२० को डढेलो - ज्यानुवरी ३, २०२०
अब हामी यी दुई मितिका डढेलोबाट उत्पन्न धुवाँ हेरौँ - यी दुवै घटनाहरूबाट निकै धुवाँ निस्कियो। दुवै पटक निकै घना जङ्गलमा आगो लागेको थियो र तेल उत्पन्न गर्ने स्थानीय यूक्यालप्टसका रुखहरू तेलले लपक्क भिजेका अवस्थामा थिए। अर्को शब्दमा भन्नुपर्दा आगो लाग्ने इन्धन व्यापक र तयारी अवस्थामा उपलब्ध थियो। यस्तो किसिमको डढेलो अति चरम मौसम भएको बखत मात्र लाग्ने गर्छ।
ब्ल्याक स्याटरडेसँग यसपालिको डढेलोलाई तुलना गर्दा र त्यसबाट उत्पन्न धुवाँको मात्रालाई मात्र हेर्दा यो त्यो बेलाको भन्दा भयाभह स्थिति हो; किनकि यस पटकको आगलागी धेरै समयसम्म जारी छ।
पूर्वी अस्ट्रेलिया, १० वर्ष अघि र आज https://cdn.knightlab.com/libs/juxtapose/latest/embed/index.html?uid=60d2a6d4-3107-11ea-b9b8-0edaf8f81e27
माथिको तस्बिरबाट हामीले अस्ट्रेलियामा खडेरीबाट परेको प्रभाव देख्न सक्छौँ। देब्रे पट्टिको तस्बिर एक दशक अघिको हो - त्यसमा हामीले हराभरा पूर्वी अस्ट्रेलियालाई प्रस्ट देख्न सक्छौँ। त्यो हरियालीको मतलब त्यहाँ निकै राम्ररी वनस्पति हुर्केको थियो - बस्तुभाउले चर्न प्रयोग हुने बोटबिरुवादेखि घाँस सबै र वातावरण पनि भिजेको महसुस हुन्छ।
अब, त्यसको तुलना केही दिन अघि मात्र खिचिएको तस्बिरसँग गरौँ, जुन तपाईँको दाहिने हात पट्टि छ, त्यसमा तपाईंले निकै खैरो जमिन देख्न सक्नुहुन्छ र त्यो निकै सुख्खा रहेको पनि हामी भेउ पाउँछौँ। यो भर्खरै मात्र लिइएको तस्बिर हेरेर हामी त्यहाँ वनस्पतिको नाममा केही पनि नरहेको पनि देख्न सक्छौँ। बढ्दो तापक्रम र खडेरीका कारण त्यस्तो हुन गएको हो।
क्याङ्गरू आइल्याण्ड, २ महिना अघि र अहिले https://cdn.knightlab.com/libs/juxtapose/latest/embed/index.html?uid=00e3666c-3109-11ea-b9b8-0edaf8f81e27
यहाँ हामीले देब्रे पट्टि, दुई महिना अघिको क्याङ्गरू आइल्याण्ड देख्न सक्छौँ भने दाहिने पट्टिको चाही हालसालैको।
मैले विशेष नोट गरेको कुरा चाहिँ सुक्दै गएको जमिन हो। नोभेम्बरमा लिइएको तस्बिरमा निकै हरियो देखिन्छ, ज्यानुवरीकोमा भन्दा। त्यसैले भन्न सकिन्छ कि वर्षाको अभावका कारण त्यहाँ आगोको खतरा बढिरहेको छ। यो द्वीप कति सुकिसकेको छ भनेर तपाईँ आफैँ पनि देख्न सक्नुहुन्छ।
तास्मानियामा बस्ने अनुसन्धानकर्ता ग्रान्ट विलियमसन सँग आबद्ध छन्।

