Key Points
- प्रोफेसर पल केलीद्वारा अस्ट्रेलियाको महामारी सम्बन्धी आपतकालिन प्रतिक्रिया समाप्त भएको घोषणा
- एएमएका अध्यक्ष प्रोफेसर स्टिभ रब्सनले कोभिडलाई फ्लु जस्तो व्यवहार नगर्न सचेत गराए
- १४ अक्टोबरमा महामारीका कारण बिदा बस्दा प्रदान गरिने भुक्तानीको पनि म्याद सकिने
१४ अक्टोबरदेखि कोभिड-१९ सङ्क्रमण देखिएका अस्ट्रेलियालीहरूले आइसोलेसन बस्नु नपर्ने भएको छ।
शुक्रवार प्रधानमन्त्री एन्थनी एल्बनिजिले अध्यक्षता गरेको मन्त्रिपरिषद् बैठकले "सर्वसम्मत निर्णय" द्वारा कोभिड-१९ सङ्क्रमितले आइसोलेसनमा बस्नुपर्ने बाध्यकारी व्यवस्थालाई हटाएको हो।
अस्ट्रेलियामा सामुदायिक सङ्क्रमण निकै कम भएको भन्ने सुझावको आधारमा यो व्यवस्था हटाउने निर्णय आएको हो।
पाँच दिनसम्म आइसोलेसनमा बस्नुपर्ने नियम हटाइए पनि उच्च जोखिम भएका स्थानहरू जस्तै वृद्ध स्याहारमा काम गर्ने मानिसहरूलाई आइसोलेसनमा बस्नु पर्ने अवस्थामा भए आर्थिक सहायता प्रदान गरिने छ।
प्रधानमन्त्री एल्बनिजिले भने, "महामारी सम्बन्धी बिदा भुक्तानी पनि त्यही समयदेखि बन्द हुने छ, केही अपवादमा मानिसहरू (कामदारहरू) जो उच्च जोखिम भएका क्षेत्रका छन्, र जसलाई विशेष सहायता आवश्यक पर्दछ।"
हाल, लक्षण नदेखिएका अस्ट्रेलियालीहरूले पाँच दिनसम्म आइसोलेसनमा बस्नु पर्ने व्यवस्था रहेको छ।
अस्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारी पल केलीले अस्ट्रेलियाको महामारी सम्बन्धी आपतकालिन प्रतिक्रिया सम्भवतः सकिएको बताएका छन्।
यद्यपि, उनले महामारी नसकिएको भन्दै अस्ट्रेलियाको भविष्यमा देखिने लहरहरू यस वर्षको सुरुवात तिर देखिएको जस्तै हुन सक्ने भन्दै सचेत गराएका छन्।
प्रोफेसर केलीले हाल अस्ट्रेलियामा कोभिड सङ्क्रमण, अस्पताल भर्ना हुने र सघन उपचार कक्षमा भर्ना हुनेहरूको दर न्यून भएको बताए।
"हामीसँग अहिले, पहिलेको सङ्क्रमणका कारण हाइब्रिड रोग प्रतिरोधात्मक क्षमता छ, साथै उच्च खोप दर रहेको छ विशेष गरी उच्च जोखिममा रहेका समुदायहरूमा - वृद्ध मानिस, वृद्ध स्याहार केन्द्रमा रहेकाहरू, विशेष गरी अपाङ्गता भएका र अन्य जसको बारेमा हामीले पहिले पनि धेरै पटक कुरा गरिसकेका छौँ।
"मलाई विश्वास छ आइसोलेसनलाई हटाउनु अहिले समयमा व्यावहारिक कुरा हो सार्वजनिक स्वास्थ्यका दृष्टिबाट," प्रोफेसर केलीले भने।
"हामीले यस भाइरसको सङ्क्रामकतालाई परिवर्तन गरेका छैनौँ।"
प्रधानमन्त्री एन्थनि एल्बनिजिले अहिलेको परिस्थिति र सुझावका आधारमा सरकारले यो निर्णय ल्याएको बताएका छन्।
उनले भने कि नेतृत्व वर्गले मानिसहरूलाई खोप लगाउन अभियानहरू सञ्चालन गर्ने आवश्यकताबारे छलफल गरेका छन्।
"हामी उच्च जोखिम भएका क्षेत्रहरूमा सहायता प्रदान गर्ने क्रमलाई निरन्तरता दिन्छौँ। हामी यी मुद्दाहरूलाई निगरानी गरिरहन्छौँ, र डिसेम्बरमा हाम्रो अर्को छलफल हुन्छ।"
अस्ट्रेलियन मेडिकल एसोसिएसन प्रोफेसर स्टिभ रोब्सनले कोभिडलाई फ्लु जस्तो व्यवहार नगर्न सचेत गराएका छन्।
"यदि तपाइहरू कोभिडलाई फ्लु हो भन्ने सोच्नु हुन्छ भने, तपाईँ कल्पनाको संसारमा हुनुहुन्छ। कोभिड लामो समयसम्म रहने सङ्क्रमण हो। हामीले अहिले नै लङ्ग कोभिडले कार्यक्षेत्र र समुदायमा पारेको प्रभाव देखिरहेका छौँ। लामो समयसम्म रहने फ्लु वा चिसोले यस्तो हुँदैन। यो कल्पना हो।" उनले एबीसीलाई बताए।
ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन ।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि ।