न्यु साउथ वेल्स राज्यमा गएको २४ घण्टामा १८ जना सङ्क्रमित थपिएका छन् ।
एज्ड केयरमा काम गर्ने एक कामदार सहित १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
सोमबार राति ८ बजे सम्म दर्ता गरिएका १८ केश मध्येका ११ जना सङ्क्रमण अवधिभर आइसोलेसनमा रहेको बताइएको छ ।
बाकि सङ्क्रमित मध्ये पाँच जना आंशिक रूपमा आइसोलेसनमा रहेका र बाकि दुईमा भने सामुदायिक सङ्क्रमण भएको बताइएको छ ।
फेला परेको मध्येका एक सङ्क्रमित बल्कमहिल स्थित समिट केयर एज्ड केयर होमका कर्मचारी हुन् ।
यसैबिच सिड्नीका बासिन्दा लकडाउनको महत्त्वपूर्ण बिन्दुमा रहेको भन्दै लकडाउन लम्बिने सम्भावनालाई नर्कान नसकिने अधिकारीहरूले चेतावनी दिएका छन् ।
बोन्डाईबाट सुरु भएको सङ्क्रमणको सिलसिलामा हाल सम्म ३ सय १२ जनामा सङ्क्रमण भइसकेको छ ।
प्रिमीयर ग्लेडीज बेरीजेक्लियनले लकडाउनको दोस्रो हप्ता निकै महत्त्वपूर्ण रहेको बताएकी छन् ।
“लकडाउनले निश्चित रूपमा यस अघिको हाम्रो चिन्तालाई कम गदै भाइरसलाई दोब्बर र तेब्बर हुन बाट रोकेको छ र प्रभावकारी देखिएको छ ” मङलबार पत्रकारहरू सँग कुरा गदै उनले भनिन् ।
लकडाउन लम्ब्याउने वा अन्त्य गर्ने भन्ने बारेको निर्णय भोलि गर्ने पनि बेरीजीक्लियनले बताएकी छन् ।
“मलाई आशा छ कि अर्को हप्ता कस्तो हुनेछ भन्ने कुराको केही जानकारी म भोलि दिन सक्छु ” उनले भनिन् ।
राज्यकी मुख्य स्वास्थ्य अधिकारी केरी च्यान्टले फेयर फिल्ड र बोसेली पार्कका मानिसलाई कोरोना जाँच गराउन अगाडी आउन आग्रह गरेकी छन् ।
“भाइरस प्रसारणको दरलाई पहिचान गर्नका लागि उक्त क्षेत्रमा उच्च परीक्षण भएको हेर्न चाहन्छौ” उनले भनिन् ।
गएको २४ घण्टामा राज्यमा अघिल्लो दिनको तुलनामा कम परीक्षण भएको छ ।
उक्त अवधिमा ३२ हजार १ सय ३६ जनाको कोरोना परीक्षण भएको छ ।
सोमबार भने ५८ हजार भन्दा बढी मानिसले कोरोनाको परीक्षण गराएका थिए ।
क्विन्सल्याण्डमा आज एक जनामा मात्र सङ्क्रमण
क्विन्सल्याडमा भने आज एउटा मात्र कोरोनाको स्थानीय सक्रमणका केश फेला परेको छ ।
गएको २४ घण्टामा २२ हजार जनामा कोरोना परीक्षण भएकोमा एक व्यक्तिमा मात्र कोरोना पुष्टि भएको हो ।
नयाँ भेटिएका सङ्क्रमित सोमबार फेला परेका सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति भएको बताइएको छ ।
नर्सिङ विद्यार्थी समेत रहेका सङ्क्रमितमा कोरोनाको अल्फा भेरीयन्ट भेटिएको र सङ्क्रमण अवधिमा क्याम्पस नगएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
राज्यकी प्रिमीयर एनेसथेसिया पालासेले एक मात्र केश भेटिनु सुखद समाचार भएको भन्दै मानिसहरूलाई मास्क लगाउने,सामाजिक दुरी कायम गर्ने,जाँच गराउने र क्यु आर कोडको प्रयोगलाई निरन्तरता दिए प्रकोपको चाँडो समाधान हुने बताइन् ।
पर्थ र पिल क्षेत्रको प्रतिबन्धहरू खुकुलो
यता वेस्टर्न अस्ट्रेलिया भने सोमबार एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएता पनि पर्थ र पिल क्षेत्रमा लगाइएको प्रतिबन्धहरू भने खुकुलो बनाइएका छन् ।
ठुलो पानी जहाजका एक सदस्यको स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि हाल पर्थ स्थित एक अस्पतालमा भर्ना गरिएको छ ।