अपराध अनुसन्धानकर्ता र किशोरावस्थाका पक्षमा आवाज उठाउने अभियन्ताहरूका अनुसार अभिभावकहरूद्वारा आफ्नै बाल-बालिकाहरूलाई मार्ने जस्तो गम्भीर विषयलाई राम्ररी उठान नगरिए थप मृत्युका घटना हुनेछन्।
अभिभावकहरूद्वारा आफ्नै बच्चाको ज्यान मार्ने वा “फिलिसाइड” भनिने घटनाहरू प्रत्येक वर्ष २५ वटासम्म घटेका तथ्याङ्क प्रकाशित भएको छ।
यी घटनाहरूका बारे मिडियाले खबरहरू व्यापक रूपमा प्रेषित गरेता पनि विशेषज्ञहरूका अनुसार प्राय यसबारे लामो समयसम्म कसैको ध्यान जाँदैन।
मेलबर्नको मोन्याश विश्वविद्यालयद्वारा राष्ट्रिय रूपमै गरिएको एक अध्ययनले विगत १२ वर्षको तथ्याङ्क केलाउने क्रममा हरेक १५ दिन जसोमा एक बच्चाले आफ्ना अभिभावकका हातबाट मृत्युवरण गर्नुपरेको तथ्य उजागर भएको हो।
उक्त विश्वविद्यालयकी एक एमिरिटस प्राध्यापक थिय ब्राउन, यो विषय “अनुचित” रहेका कारण धेरै छलफल नहुने स्वीकार गर्छिन्।
“हाम्रो विचारमा, अब यो विषयलाई हामीले अस्ट्रेलियामा हुने कुनै एक सम्मेलनमा उठाउनु पर्ने समय आइसकेको छ। किनकि अस्ट्रेलियामा फिलिसाइडका घटना हुने दर अन्य राष्ट्रहरूको तुलनामा निकै धेरै छ र यहाँ यस विषयलाई सम्बोधन गर्ने कुनै व्यवस्थित प्रयास भएको देखिँदैन,” उनले भनिन्।
प्रोफेसर ब्राउनले फिलिसाइड बाहेक अन्य किसिमका हत्याका सङ्ख्या भने बिस्तारै घट्दै गएको पनि बताइन।
उनका अनुसार आफ्नै बच्चा मार्ने उद्योगमा लागेका अभिभावकहरूले आफ्नो कुकृत्यका लागि दिएका केही कारणहरू मूर्खतापूर्ण छन्।
“अब उदाहरणको लागि,हामीले गरेको अध्ययनका क्रममा एक भिक्टोरियाली महिलाले आफूसँग समय नभएका कारण आफ्नो सन्तानलाई मारेको उल्लेख गरेकी थिइन् ,” प्रोफेसर ब्राउनले भनिन्।
“राम्रो कारण भेट्टाउनु एकदमै गाह्रो छ।”
फिलिसाइडलाई प्रभावित गर्ने कारणहरूमा पारिवारिक हिंसा, मानसिक बिमारी, लागु औषध दुर्व्यसन, विगतमा भएका आपराधिक क्रियाकलापहरूमा संलग्नता, आमाबाबु बिच सम्बन्ध विच्छेद हुनु र बालबालिका माथि दुर्व्यवहारका पूर्ववर्ती घटनाहरू लगायत रहेको बताइएका छन्।
उनका अनुसार आफ्ना बच्चाको हत्या गर्ने आमा र बाबुको अनुपात उस्तै भएता पनि, सौतेनी बुबाहरूको सङ्ख्या असङ्गत रूपमा धेरै देखिएको छ।
यसका साथै, पर्याप्त सुविधाहरू नभएका केही समुदायहरू फिलिसाइडको थप जोखिममा रहेको पनि उनको भनाइ छ।
भिक्टोरिया प्रहरीसँग काम गरिरहेका एक ब्रिटिस पूर्व प्रहरी गुप्तचर - डा रसल वेएट चाहिँ बालबालिकाको ज्यान जाँदा के गर्ने भनेर सेवा प्रदायकहरू बिच थप सहकार्य हुनुपर्ने बताउँछन्।
“त्यसो गर्दा, कुनै पनि घटना अनुसन्धान हुनबाट छुट्दैन र ती बच्चाहरू किन मरे भनेर पत्ता लगाउन उचित मौका पनि पाइन्छ । जसले गर्दा उनीहरूको मृत्यु के कति कारणले भएको हो र यदि उक्त घटना हत्या हो भने त्यसका लागि को जिम्मेवार छ भनेर थाहा पाउन सकिनेछ,” उनले भने।
भिक्टोरियामा बालबालिका तथा युवाहरूका एक आयुक्त - लियाना बुकानानका अनुसार - आफूले बच्चाहरूको मृत्यु बारे अनुसन्धान गर्दा पनि विभिन्न सरकारी निकायहरू बिच राम्रो सहकार्य भएको भए, फरक नतिजाहरू देखा पर्ने थिए।
“लगभग हरेक जसो मामिलाहरूमा हामीले के पायौँ भने, विभिन्न सेवा प्रदायकहरूले एक्ला-एक्लै पीडित बच्चासँग काम गरिरहेका थिए। अनि, कतिपय अवस्थामा त परिवारका ठुला बडा र बालबालिकासँग फरक-फरक निकायहरू सम्पर्कमा थिए। उनीहरू सबैसँग तस्बिरका केही हिस्सा त थिए, तर ठ्याक्कै परिवारमा के चलिरहेछ भनेर थाहा पाउने पूर्ण जानकारी थिएन। न त बच्चा माथि के को खतरा छ भन्ने जानकारी प्रभावकारी रूपमा बाँड्ने प्रचलन,” उनले भनिन्।
डा वेएटले काम गरेको १५ वटा विभिन्न मुद्दाहरूमा आफ्नै बच्चाको ज्यान लिने जस्तो जघन्य अपराध गरेकाहरूमा आफूले कुनै गल्ती गरेको जस्तो केही भावना थिएन।
“मैले काम गरेको कुनै मुद्दामा, एक जना आमाले आफ्नै दुई किशोरावस्थाका सन्तानहरूलाई मारेकी थिइन् र उनी आफ्नी जीवनसाथीसँग बदला चाहन्थिन। उनको दिमागमा त्यही भूत मात्र सवार थियो। बच्चाहरू गुमाएको बारेमा केही पश्चात्ताप थिएन,” उनले भने।
सबैभन्दा बढी रूपमा पीडित हुनेमा नवजात शिशुहरू
पारिवारिक हिंसा माथि शोध गरिरहेकी मेलबर्न विश्वविद्यालयकी प्रोफेसर क्याथी हम्फ्रिजका अनुसार, फिलिसाइडबाट सबैभन्दा बढी रूपमा पीडित हुनेमा नवजात शिशुहरू छन्।
“हामीले ती नवजात शिशुहरू माथि ध्यान दिनु निकै नै जरुरी छ। अनि, गर्भावस्थाका बेला हुने हिंसा त झन् नियतवश गरिने हिंसाको दोहोरो रूप हो,” उनले भनिन्।
कतिपय स्थितिहरूमा त किशोरावस्थाका मानिसहरूले पारिवारिक हिंसा झेल्न नसक्दा गर्ने आत्महत्याको बारेमा बाहिर थाहै नहुने पनि हम्फ्रिज बताउँछिन्।
“यो एक यस्तो समूह हो जसको बारेमा जति कुराहरू बाहिर आउँदै छ, हामी उत्तिकै चिन्तित हुनुपर्ने अवस्थाको सृजना हुँदैछ। अनि, अर्को समूह जसको बारेमा हामी गम्भीर हुनै पर्छ त्यो हो - घरेलु हिंसाका कारण आफ्नो ज्यान गुमाउने आमाहरू,” उनले भनिन्।
के छ त फिलिसाइडसँग भिड्ने उपायहरू?
वेस्टर्न अस्ट्रेलिया स्थित न्याय विभागका डा एडम टमिसनको कुरा मान्ने हो भने उनको बुझाइमा सरकारले फिलिसाइड भन्दा किशोरावस्थामा हुने आत्महत्या माथि सरकारी ध्यान जानुको पछाडि अङ्क गणितको खेल छ।
उनको बिचारमा सामान्य रूपले यस समग्र स्थितिलाई नियन्त्रण गर्ने कदम चालिए अन्य कारणहरू पनि आफैँ सम्बोधन हुँदै जानेछन्।
“सङ्घर्षशील परिवारहरूलाई उचित सेवा तथा सहयोगहरू उपलब्ध गराउने हो भने, यो सजिलो मात्र हुनेछैन अपितु यसले राम्रो प्रभाव पार्न सक्छ अनि समग्र रूपमा भन्नु पर्दा फिलिसाइडसम्म पुग्ने स्थितिमा नै कमी ल्याई दिनसक्छ,” उनले भने।
सरकारी तथ्याङ्कहरूका अनुसार, गाडी दुर्घटनामा परेर आफ्नो ज्यान गुमाउने भन्दा पनि बढी सङ्ख्यामा अस्ट्रेलियाली युवाहरूले आत्महत्या गर्ने बताइएको छ।
विज्ञहरूका अनुसार फिलिसाइडका घटनाहरू अन्य ज्यान लिने अपराधको अनुपातमा एकदमै कम सङ्ख्यामा हुने भएता पनि यसका बारे खुलेर कुरा गर्नु राम्रो मानिँदैन, तर यसलाई सम्बोधन गर्न थप छलफलहरू आवश्यक छन्।
यदि तपाईँ वा तपाईँले चिन्ने कसैलाई मद्दतको आवश्यकता छ भने सम्पर्कको लागि १३ ११ १४ मा लाइफलाइनलाई वा बियन्ड ब्लुलाई १३०० २२४ ६३६ मा फोन गर्नुहोस्।